सिमानाका सिपाही हर्षबहादुरका दुःख

मान्छेहरू चाहन्छन् सीमा नहोस्। केवल क्षितिज होस्। स्वच्छन्दता होस्। जहाँ कसैको काबु नहोस्। बेकाबु हुन पाइयोस्। तर, व्यवहारमा सीमा हुन्छन् र सिमाना पनि। अनि हुन्छन्, सिमाना पार गर्नुपर्ने बहाना पनि।

उसले पनि एउटा बहाना भेटेको छ। तर सीमा पार गर्ने होइन, पार गर्न नदिने बहाना। यो बहाना उसको चाहना होइन, रोजाना हो।

गैरकानुनी र अवैध ढंगले सीमा नाघ्ने र नाघ्न चाहने जोसुकैलाई रोक्न तैनाथ गरिएको छ उसलाई। कोरोना महामारी समयमा सिमानाको रक्षा गर्न खटाइएको छ। तर उसलाई गाह्रो छ आफ्नै रक्षा गर्न। किनकी कोरोना भाइरसबाट मात्र हैन, अन्य धेरै कुराबाट असुरक्षित छ ऊ।

ऊ अर्थात सशस्त्र प्रहरी हर्षबहादुर।

 

'नाम हर्ष भएर हुँदो रहेनछ' कहिलेकाँही ऊ नामको बेलिबिस्तार लगाउँछ। जीवनमा धेरै गरिब धनीरामहरू भेटेको छ उसले। ढुंगा जत्तिकै कठोर मन भएका दिलबहादुर पनि पाएको छ। सुन्दर आवरण भन्न नमिल्ने रूपबहादुर अनि स्वभावैले आक्रामक शान्ति प्रसादको संगत पनि गरेको छ।

त्यसैले नामविपरीत धेरै कारणले उसमा हर्ष नभए पनि बहादुर भने छ। र त, थुप्रै अभाव र असुरक्षाका बाबजुद दिनरात खटिन बिलकुल हच्किएको छैन।

त्यही भएर होला अस्ति ऊ खटिएको सीमाका 'मेयर' भन्दै थिए, 'लोहाले बनेको मान्छे रहेछन् हर्षबहादुर। २४ सै घन्टा उही फूर्तिसाथ काम गरेको देख्छु।'

हर्ष बहादुरसँगै एसएलसी उत्तीर्ण गरेको साथी अहिले वैदेशिक रोजगारीमा छ। कोरोना अघिसम्म मासिक लाखभन्दा बढी रकम पठाउँथ्यो। विदेशी भूमिमा चिल्लो कारमा हिँड्थ्यो।

 

तर हर्ष बहादुर विदेशीको अतिक्रमण रोक्न, खबरदारी गर्न दशगजाको तिरैतिर साइकलमा हिँड्छ। मासिक पाउने केही हजार तलबमा गुजारा गर्छ। सदरमुकाममा कोठा भाडा लिएर जहान परिवारसम्म पालेको छ। ऊ आर्थिक रूपले पनि असुरक्षित छ।

ऊ भर्खरै ड्युटी सरेर कोरोना भाइरसका कारण भएको बन्दाबन्दीमा सीमाबाट मान्छेको अवैध आवागमन रोक्न स्थापना भएको अस्थायी बोर्डर आउट पोष्ट (बिओपी) मा तैनाथ हुन आएको हो। कुनै पुरानो मक्किएको दुई कोठे खण्डहर सरकारी भवनमा उसको पोष्ट बसेको छ। ऊ र उसको टिमलाई बस्न र हातहतियार राख्न त्यही घरको सहारा छ।

प्रतिकृया दिनुहोस