पुर्व भुटानी शरणार्थी डिल्ली अधिकारीले धम्क्याएको भन्दै शरणार्थि नेता बलराम पौडेलद्वारा सुरक्षा माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १९/
भुटानी शरणार्थी नेता बलराम पौडेलले आफ्नो र परिवारको जीवन सुरक्षाका लागि नेपाल सरकारसँग माग गर्नु भएको छ । हिँजो सोमबार जिल्ला प्रशासन कार्यालय, झापा पुगेर उनले पूर्व भुटानी शरणार्थी हाल अमेरिकी नागरिकद्वय डिल्ली अधिकारी र भीम बस्नेतबाट आफूलाई धम्की आएको भन्दै जीवन रक्षाको माग गर्नु भएको हो ।
निवेदन बुझ्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सुरक्षा समितिको बैठक राखेर यो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने जानकारी दिनुभयो । एक जना शरणार्थी नेताले जीवन रक्षाको माग गर्नु संवेदनशील विषय भएको भन्दै उहाँले यो विषयलाई सुरक्षा समितिको बैठकमा एजेन्डा बनाउँने बताउनु भयो । 
उहाँले तत्काल सुरक्षा चाहिए प्रशासन तथा नजिकको इलाका प्रहरी कार्यालयसँग समन्वय गर्न पौडेललाई आग्रह गर्नुभयो । उहाँले एक जना प्रहरी अधिकारीलाई फोन गरेर पौडेलसँग निरन्तर समन्वयमा रहन निर्देशनसमेत दिनुभयो ।
इन्ट्रा फाउण्डेसनले काठमाडौंमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गरेको थियो । उक्त कार्यक्रमको अन्तिम एपिसोडको लाइभ ब्रोडकास्ट भएका बेला सोही संस्थाका अध्यक्ष डिल्ली अधिकारीले मन्तव्य दिने क्रममा भुटानमा नेपाली समुदायको बसोबास सम्बन्धमा निराधार कुरा गरेको पौडेलको भनाइ छ ।
‘हामी नेपालमा आश्रितसँगै पुनर्वास भइसकेका भुटानीहरूको प्रतिनिधित्व गर्दै भुटान पिपल्स पार्टीको तर्फबाट अध्यक्षको नाताले म आफैंले मिति २१ अगस्त २०२३ मा एक विज्ञप्ति जारी गर्दै अधिकारीको कथन निराधार छ भनी त्यसलाई सच्याउन आग्रह गरेको थिएँ ।’ पौडेलले निवेदनमा भन्नु भएको छ ।
अधिकारीको मन्तव्यमा व्यक्त गरिएका कुराले अहिले भुटानी शरणार्थी समुदाय तरंग पैदा गरिदिएको पौडेलले बताउनु भयो ।
पौडेलले विज्ञप्ति जारी गरेपछि इन्ट्रा फाउन्डेसन अध्यक्ष अधिकारीले भीम बस्नेतलाई फोन गर्न लगाएर धम्कीको भाषा प्रयोग गर्दै ‘म तपाईंको शुभचिन्तक हुँ, तपाईंलाई अप्ठ्यारो नपरोस्, तपाईंले विज्ञप्ति सच्याउनू’ भन्दै कुरा गरेको पौडेलले बताउनु भयो ।
‘अचानक गत बुधबार मिति ३० अगस्त २०२३ को मध्यान्ह अपरिचित मोबाइल नम्बर ९८२८७४३१६६ बाट मेरो मोबाइल नम्बर ९८४२६२३६९३ मा कल आयो । दोधार हुँदै मैले फोन रिसिभ गरें । त्यहाँ पुरुषको आवाज आयो । मैले चिनिनँ को बोल्नु भो भन्दा म पथरी शिविरको मानिस तपाईंको परिचित हुँ भन्यो। मलाई त्यहाँको शिविर सचिवको जस्तो आवाज लाग्यो र चप्पासिंहजी हो भन्दा उसले म बिबी बस्नेत भनेर परिचय दियो । मैले सारै चिनेजस्तो नलागे पनि कुरा गर्दै जाँदा उसले विज्ञप्तिबारे कुरा अघि बढायो । सुरुमा उसले नरम प्रकारले बोल्दै केही अप्ठ्यारा कुरा गर्न थालेपछि मैले अर्को फोन लिएर उसको आवाज रेकर्ड गर्न थालें । ऊसँग १६ मिनट ३६ सेकेन्ड कुरा भएको रहेछ तर रेकर्ड गरिएको भाग ८ मिनट ३९ सेकेन्डको मात्र छ । जुन अडियो रेकर्डसहित दुवै कार्यक्रममा डिल्ली अधिकारीले दिएको मन्तव्य, प्रेस विज्ञप्ति पनि यसै निवेदनका साथ पेश गरेको छु ।’ निवेदनमा पौडेलले उल्लेख गर्नु भएको छ ।
अधिकारीले बेलडाँगी शरणार्थी शिविरमा पनि त्यस्तै धम्कीको भाषा दोहो¥याएको पौडेलले बताउनु भयो । आफूलगायत शरणार्थी समुदाय वर्षौंदेखि उत्पीडनमा परेको र मानसिक यातना पाएकाले उक्त उत्पीडन तथा मानसिक यातनाबाट मुक्ति दिलाउन नेपाल सरकारसँग पौडेलले माग समेत गर्नु भएको छ ।

 

प्रतिकृया दिनुहोस